”मुलुकको विकासका लागि नयाँ समीकरण बनाउन आवश्यक”-डा प्रकाश शरण महत

असार २६ बुधबार, काठमाण्डाै । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले मुलुकको विकासका लागि नयाँ समीकरण बनाउन आवश्यक रहेकाे बताउनुभएकाे छ । नेपाल विद्यार्थी सङ्घ तारकेश्वर नगर समितिले आयोजना गरेको एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रममा उहाँले अस्थिर सरकारका कारण मुलुकको विकासमा बाधा पुगेकाले स्थिरताका लागि नयाँ समीकरण बनाउनुपरेको भएको बताउनुभएको हो ।

डा महतले देश र जनतालाई केन्द्रमा राखेर कांग्रेस–एमालेबीच सरकार गठनका लागि गठबन्धन भएको बताउनुभयाे । साथै नयाँ सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले राजनीतिक दलमा आबद्ध नेता तथा कार्यकर्ता समाजसेवाको भावनाले अगाडि बढे आर्थिक, सामाजिक तथा राजनीतिक समस्या समाधान र परिवर्तनलाई संस्थागत गर्न धेरै समय नलाग्ने पनि बताउनुभयो ।

साथै पूर्व अर्थमन्त्री डा महतले नेपाल हरेक कुरामा राम्रो सम्भावना भएको देश हाे जुन संसारमा अर्को भेट्टाउन नसकिने बताउनुभयाे । त्यसैले सबै जना पवित्र भावनासहित देश र समाजको विकासमा लागेमा समृद्धि हासिल गर्न सकिने, विशेष गरी युवापुस्ताले विदेश जाने मानसिकता त्यागेर स्वदेशमै केही गर्नुपर्छ भन्ने भावनाको विकास गर्नुपर्ने पनि बताउनुभयाे ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.