मंसिर २८ बिहीबार, काठमाण्डाै । चार महिनामा विदेशी मुद्रा सञ्चिति १०.२ प्रतिशतले बृद्धि भएकाे छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार गत कार्त्तिक मसान्तसम्म विदेशी मुद्राको विनिमय सञ्चिति रु १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ । केन्द्रीय बैंकका अनुसार २०८० असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको थियाे । यसरी विदेशी विनिमय सञ्चितिमा १०.२ प्रतिशतले वृद्धि भइ रु १ खर्ब ५७ अर्ब ४२ करोड रुपैयाँ सञ्चिति थपिएको छ ।
बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा ८.९ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड पुगेको छ । कूल विदेशी सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति रु १४ खर्ब ९० अर्ब ८३ करोड बराबर छ । यस्तै बैङ्क तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैङ्क बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा ६.४ प्रतिशतले वृद्धि भई रु दुई खर्ब पाँच अर्ब ९५ करोड रहेको छ । गत कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत छ ।
आर्थिक वर्ष २०८०/८१ को चार महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.६ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

Leave a comment