दसै‌ंकाे नवाैँ दिन देश भरका शक्ति पिठहरुमा पूजा गरि मनाइदै

कार्तिक ६ साेमबार, काठमाण्डाै । दसैँ काे नवौँ दिन अर्थात आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । दुर्गा भगवतीका यिनै नौ रुपलाई नवदुर्गा भन्ने गरिएको हो ।

प्रत्येक वर्षझै यस वर्ष पनि आज दसैँ घर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), देवी भागवत एवं देवी स्तोत्र पाठ गरी मनाइँदै छ ।

महानवमीका दिन काठमाण्डाै उपत्यकाका गुहृयेश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, इन्द्रायणीमा विशेष पूजा तथा दर्शन गर्न ठूलो सङ्ख्यामा भक्तजनहरु पुगेका थिए ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेकाले आज दिनभर जसो शक्तिपीठमा भक्तनहरुको भीड लागेको थियो । वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गर्दछन् । यसरी विभिन्न देवस्थल तथा घरघरमा नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमी देखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.