फाल्गुण ७ आइतबार, काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताउनुभएको छ । साथै ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धीका लागि निरन्तर लाग्नुपर्ने बताउनुभयाे ।
प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री दाहालले नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको बताउनुभएको छ ।
उहाँकाे सन्देशमा “आजका समस्त उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२-६३ को ऐतिहासिक जनआन्दोलनलगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको छ । आजको यस ऐतिहासिक दिनमा प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ”
साथै उनले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध रहेको बताउनुभयाे । प्रजातन्त्र दिवसले राष्ट्रिय सहमति मार्फत देशका चुनौतीहरू छिचोल्दै नवीनतम् सम्भावनाहरू प्राप्त गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनासहित समस्त नेपालीमा शुभकामना व्यक्त गर्नुभयाे ।

Leave a comment