फाल्गुण ५ शुक्रबार, काठमाण्डाै । खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न गुनासो कल सेन्टरको स्थापना गरि टोल फ्रि नम्बर सार्वजनिक गरेको छ । खानेपानी मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गर्नुभएको हो । मन्त्री खानले जनकपुरबाट आएको गुनासोको सुनुवाइ गर्दै गुनासो सुनुवाइ एकाइको उद्घाटन गर्नुभएको हो । उहाका अनुसार अबदेखी खानेपानी समस्या समाधान गर्न र उपभोक्ताको गुनासो सुन्न खानेपानी मन्त्रालयले गुनासो कल सेन्टरको स्थापना गरेकाे छ, हाम्रो टोल फ्रि नम्बर ११७१ मा पाइपलाइन फुटेमा वा कतै पानीको लाइन बिग्रिएर खानेपानी नपाएमा उपभोक्ताले सिधै मन्त्रालयमा रहेको कल सेन्टरमा फोन गरेर गुनासो टिपाउन सकिने बताउनुभयो ।
उहाँले सातामा एक दिन आफू कल सेन्टरमा बस्ने भन्दै दैनिक चार जना कर्मचारीले उपभोक्ताको गुनासोको सुनुवाइ गर्ने जानकारी दिनुभयो । उहाँले दूरदराजका जनतालाई सरकार भएको प्रत्यक्ष अनुभूति दिलाउन मन्त्रालयले गुनासो सुनुवाइ एकाइ स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले जनताको जनजीवनसँग जोडिएको यस खानेपानी मन्त्रालयको काम र कर्तव्यलाई आफ्नो इमान्दारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल जलस्रोतको दोस्रो ठूलो देश भए पनि २५ प्रतिशत मानिसले मात्र शुद्ध खानेपानी प्रयोग गर्ने गरेको उहाँको भनाइ थियो ।
मन्त्रालयका सचिव मणिराम गेलालका अनुसार उपभोक्ताको गुनासोलगत्तै मन्त्रालयले प्रदेश सरकार, स्थानीय सरकार र खानेपानी मन्त्रालयअन्तर्गतका कार्यालयसँग समन्वय गरेर समस्या समाधान गर्ने बताउनुभयो । त्यस्तै मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलका अनुसार हाल मन्त्रालयले सार्वजनिक गरेको टोल फ्रि नम्बर ११७१ मा नेपाल टेलिकमका ग्राहकले मात्र गुनासो दर्ता गराउन मिल्ने छ । साथै एनसेल तथा स्मार्ट टेलिकमसँग समेत कुरा भइरहेकाे र छिट्टै एनसेल तथा स्मार्ट टेलिकमका ग्राहकले समेत गुनासो गर्न सक्ने उहाँले बताउनुभयो ।

Leave a comment