फाल्गुण ४ बिहिबार, काठमाण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको बताउनुभएको छ । मन्त्री किराँतीले प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरासँग भगिनी सम्बन्ध कायम भएका चीनका विभिन्न सहरसहित भारतका अन्य सहरमा सिधा उडानका लागि मन्त्रालयले छलफल गरिरहेको बताउनुभयो । उहाँले नागरिक उड्डयन प्राधिकरणलाई पोखरा विमानस्थल कसरी चलाउन सकिन्छ भनेर कार्ययोजना ल्याउन आफूले निर्देशन दिएको बताउनुभयो ।
उहाँले नेपालका सबै विमानस्थल दैनिक कम्तीमा १५ घण्टा चल्ने व्यावसायिक कार्यक्रम आवश्यक रहेकाले मन्त्रालयका कर्मचारीलाई व्यावसायिक योजना ल्याउन आग्रह गरेको जानकारी दिनुभयो । पोखरामा गत माघ १ गते भएको विमान दुर्घटनापछि मनोवैज्ञानिक आतङ्क रहेकाले त्यसलाई न्यूनीकरण गर्नु आवश्यक रहेको पनि बताउनुभयो ।
विमान दुर्घटनाको छानबिनका लागि सरकारले गठन गरेको समितिले दुर्घटनाको प्रारम्भिक प्रतिवेदन तयार गरी बुधबार मात्र बुझाएकाले सम्पूर्ण प्रतिवेदन प्राप्त भएपछि घटनाको यथार्थ विवरण बाहिर ल्याइने मन्त्री किराँतीले जानकारी दिनुभयो । आफ्नो मन्त्रालयमा समस्याको चाङ रहेको र चुनौती तथा अप्ठ्यारा भए पनि समाधान असम्भव छैन भनेर आफू लागिपरेको उहाँले बताउनुभयो ।

Leave a comment