फाल्गुण २ मंगलबार, काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहालले लघु, घरेलु तथा साना उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्ने बताउनुभएको छ । काठमाण्डाैको भृकुटीमण्डपमा सुरु भएको ‘१६ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौँ प्राङ्गारिक कृषि मेला–२०७९’ को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले साना तथा घरेलु उद्योगका लागि सहज रुपमा कर्जा पाउने र त्यस्ता उद्योगबाट उत्पादित वस्तुको प्रवर्द्धनका लागि सरकारले केही महत्वपूर्ण नीतिगत व्यवस्था गर्न लागेको जानकारी दिनु भएकाे थियो । उनले लघु, घरेलु तथा साना उद्योगमा बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई सहज बनाउनका लागि सरकारले नेपाल राष्ट्र बैङ्कमार्फत पहल गरेको बताउनुभयो । त्यस्ता उद्योगमा प्रवाह भएको कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरणका लागि पनि राष्ट्र बैंकले कुनै ठोस निर्णय गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री दाहालले तत्काल देखिएको वित्तीय सङ्कट हटाउनका लागि सरकार लागिपरेको बताउनुभयाे । साथै अर्थतन्त्र सुधार गर्नु सरकारको मुख्य कार्यभार हो र यो पटक हामीलाई असफल हुने छुट छैन । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेपालको परम्परागत सीपलाई व्यवसायीकरण गर्न आवश्यक रहेको बताउनुभयो । उनका अनुसार निर्यात प्रवर्द्धन र आत्मनिर्भर अर्थतन्त्र निर्माण अहिलेको आवश्यकता रहेकाे बताउनुभयाे । हाम्रो पुरानो सीपलाई व्यवसायीकरण गरेर आत्मनिर्भर बन्ने मात्र होइन हामी निर्यात प्रवर्द्धनमा पनि लाग्नुपर्छ ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र केन्द्रीय महिला उद्यमी समितिले आयोजना गरेको प्रदर्शनी तथा मेला फागुन ६ गतेसम्म चल्नेछ । मेला करिब दुई लाखले अवलोकन गर्ने र रु आठ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान आयोजकको छ ।

Leave a comment