गुठी जग्गा संरक्षण र देवस्वको सही उपयोग गरिने – सचिव डा दामोदर रेग्मी

माघ २० बिहिबार, काठमाण्डाै । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुलुकमा रहेका गुठी जग्गा संरक्षण गरी त्यसबाट प्राप्त हुने देवस्वको सही उपयोग गरिने भएकाे छ । मन्त्रालयका सचिव डा दामोदर रेग्मीका अनुसार मठमन्दिर र धार्मिक पक्षसँग जोडिएको ऐतिहासिक महत्वयुक्त क्षेत्र गुठी भएकाले मन्त्रालयले यसको प्रभावकारिता बढाउन जग्गाको संरक्षण तथा व्यवस्थित अभिलेखका लागि प्रभावकारी पहल आरम्भ गरेको हो । उनका अनुसार गुठीका जग्गा उपयोग गरी देवस्व बुझाउँदै आएका व्यक्तिलाई पनि अपनत्वबोध गराई जग्गा व्यवस्थापनलाई चुस्त र पारदर्शी बनाउने उद्देश्यले छलफल सुरु गरिएको जानकारी दिनुभयो ।

साथै मन्त्रालयले पछिल्लो समय जनकपुर, धादिङ र पाल्पाको अमरनारायण गुठीका सरोकारवाला र गुठी संस्थानका पदाधिकारीसँग छलफल गरिसकेको बताउनुभयाे । मन्त्रालयले गुठीको ऐतिहासिक पक्ष यसका मूल्य, मान्यता, कानुनी व्यवस्था र जनसरोकारको विषयमा सरोकारवालासँग अन्तरक्रिया गरेर उपयुक्त समाधान निकाल्न शीघ्र गृहकार्य गर्न गुठी संस्थानलाई निर्देशन पनि दिएको छ ।

गुठी संस्थानका प्रशासक किरण शाक्यले भने नयाँ गुठी ऐनको अभावमा यस्ता विषयहरू सम्बोधन गर्न समस्या र अप्ठ्याराे परेको बताउनुभएकाे छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.