रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेकाे -उपप्रधानमन्त्री पौडेल

माघ ८ आइतबार, काठमाण्डाै । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताउनुभएको छ । शनिबार राती प्रवासी नेपाली मञ्च अमेरिकाले आयोजना गरेको रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्राउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अनुकूल वातावरण तयार पार्नकालागि सरकार तत्पर रहेको बताउनुभयो । 

मन्त्री पौडेलेका अनुसार रेमिट्यान्सकाे ठूलो हिस्सा लिगल च्यानलबाट भित्राउन सकेकाे छैन । तर सरकार लिगल च्यानलबाट रेमिट्यान्स भित्राउनका लागि लिनुपर्ने नीति, गर्नु पर्ने निर्णय वा दिनुपर्ने प्रोत्साहनका कार्यक्रमहरू अघि सार्न तयार रहेकाे बताउनुभयाे । उनले कार्यक्रममा रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा, निर्माणको क्षेत्रमा र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गराउन नीतिगत र कानुनी क्षेत्रमा देखिएका समस्याहरूलाई परिमार्जन र सुधार गर्दै जाने पनि बताउनुभयो । 

साथै कार्यक्रममा गैरआवासीय नेपालीले उठाएको नागरिकता सम्बन्धी चासोप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै गैरआवासीय नेपालीहरूको आर्थिक तथा सामाजिक अधिकार सहितको नागरिकता प्राप्त गर्ने संविधानमा रहेकाे व्यवस्था अनुसार गर्न तयारि गरेकाे बताउनुभयाे । यसबाट सहज ढंगमा नागरिकता प्राप्त गर्न सक्ने र नेपालमा लगानी गर्न थप अनुकूल परिस्थिति सिर्जना हुनेछ बताउनुभयाे । साथै वैदेशिक लगानी तथा प्रविधि सम्बन्धी ऐनले गैरआवासीय नेपालीहरूलाई विदेशी नागरिक सरह लिएको विषयप्रति ध्यानाकर्षण गराएको र त्यस विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । गैरआवासीय नेपालीहरूले नेपालमा आउँदा भिसा लिनुपर्ने विषयमा पनि ध्यान गएको भन्दै मन्त्री पौडेलले गैरआवासीय नेपालीहरूको नागरिकता सम्बन्धी विषय समाधान गरेसँगै यो समस्या पनि समाधान हुने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रमका उपस्थित अन्य सहभागीहरूले रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपालको अर्थतन्त्रलाई मजबुत पार्न कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, मानवीय संसाधन, औद्योगीकरण, सेवा क्षेत्र, सामाजिक सुरक्षा लगायतका कुरामा जोड दिनु पर्ने सुझाव दिनुभएको थियो ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.