पुष २० बुधबार, काठमाण्डाै । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको छ । प्रवक्ता गुणाकर भट्टका अनुसार चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधनका लागि सरकार र राष्ट्र बैङ्कलाई निजी क्षेत्रबाट चर्को दबाब थियो । राष्ट्र बैंकले यसअघि मार्गदर्शन कार्यान्वयनमा के–कस्तो अप्ठ्यारा छन् भनेर बैङ्क तथा वित्तीय संस्थाहरूबाट सुझाव लिइएको थियो । चालु पुँजी कर्जाको समयसीमा र कर्जा रकमको सीमा व्यवस्थापनसँग सम्बन्धित विषयमा संशोधन भएको उहाँको भनाइ छ । यो मार्गदर्शन कार्यान्वयनमा आउनुभन्दा अघि कुनै ऋणीले साबिकको व्यवस्थाअनुसार तोकिएको सीमाभन्दा अधिक कर्जा उपयोग गरिरहेको भएमा त्यस्तो ऋणलाई आवधिक कर्जाका रुपमा कायम गरेर समायोजन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । त्यसरी समायोजनपछि कायम हुन आउने आवधिक कर्जालाई पाँच वटा किस्तामा भुक्तान गर्नुपर्ने र त्यसको समयावधि २०८० असारदेखि शुरु भएर २०८२ असार मसान्तसम्म रहनेछ । तोकिएको सीमाभन्दा बढीको कर्जालाई आवधिक कर्जा मानेर यो समयभित्र भुक्तानी गर्न सकिने व्यवस्था संशोधित मार्गदर्शनमा राखिएको तर कुनै ऋणीले २०८२ असार अघि नै सबै ऋण भुक्तानी गर्न चाहेमा अग्रिम भुक्तानी शुल्क (प्रिपेमेन्ट चार्ज) नलिने पनि राष्ट्र बैंकले जनाएको छ ।
Leave a comment