कार्तिक ३० बुधबार, काठमाण्डाै । नेपाली दर्शकले टेलिभिजनमा विश्वकप हेर्न पनि शुल्क तिर्नुपर्ने भएकाे छ । मिडिया हबले ग्राहकसँग विश्वकप प्रसारणका लागि पाँच सय रुपैयाँ उठाउने निर्णय गरेको थियो । उक्त निर्णयका विरुद्धमा अधिवक्ता किशोर पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । रिट निवेदनमा राष्ट्रिय प्रसारण नियमावलीमा सरकारले बाहेक रकम तोक्न नपाउने व्यवस्था विपरीत मिडिया हबले गरेको निर्णय रोक लगाउन आदेशको माग गरिएको थियो । केबल टेलिभिजन लिएबापत तिर्नुपर्ने सेवा शुल्क तिरेर सहजै विश्वकप हेर्न पाइने व्यवस्था रहेकामा निजी कुनै कम्पनीले त्यस्तो निर्णय गर्न नपाउने रिट निवेदनमा थियो । कात्तिक २२ गते सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले विश्वकपका नाममा विज्ञापन बापत प्रतिग्राहक पाँच सय रुपैयाँ उठाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको थियो ।
तर कार्तिक ३० गते न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा मनोजकुमार शर्माको संयुक्त इजलासले उक्त रिटमा सुनुवाई गर्दै विश्वकप फुटबल प्रतियोगिताका नाममा कुनै पनि रकम नउठाउन दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । नेपालमा विगत लामो समय देखि विश्वकप फुटबल प्रतियोगिताको टेलिभिजनमा विभिन्न च्यानलले प्रत्यक्ष प्रसारण गर्दै आएका थिए । यस भन्दा अघिका विश्वकप संस्करणहरू सजिलै हेर्न मिल्ने व्यवस्था रहेकोमा यस पटक छुट्टै शुल्क तोकिएको छ ।

Leave a comment