वैदेशिक रोजगार श्रमिकलाई श्रम स्वीकृति नवीकरण गराउन श्रम मन्त्रालयको आग्रह

कार्तिक २९ मंगलबार, काठमाण्डाै । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिको अवधि समाप्त हुनु अगावै आफू कार्यरत मुलुकबाट श्रम स्वीकृति नवीकरण गर्न वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण श्रमिकलाई आग्रह गरेको छ । श्रम स्वीकृति नवीकरण नगरेको अवस्थामा वैदेशिक रोजगारीमा रहँदा मृत्यु भएका कतिपय नेपाली श्रमिकका परिवारले पाउने कल्याणकारी सेवा सुविधा उपभोग गर्न नपाएको देखिएको जनाउँदै मन्त्रालयले श्रम स्वीकृतिको अवधि समाप्त हुनु अगावै नवीकरण गर्न आग्रह गरेको हो । जुनसुकै मुलुकमा भए पनि वैदेशिक रोजगार विभागको वेभसाइटबाट श्रम स्वीकृति नवीकरण गर्न सकिन्छ । साथै आफ्नो श्रम स्वीकृतिको म्याद रहे/नरहेको ब्यहोरा विभागको उक्त वेबसाइटमा गई हेर्न पनि सकिन्छ । म्याद समाप्त भएको वा हुने अवस्थामा रहेको श्रम स्वीकृति नवीकरण गर्नुपर्छ । मन्त्रालयका सहप्रवक्ता डा थानेश्वर भुसालका अनुसार वैदेशिक रोजगार कल्याणकारी कोष र बिमा बापत दाखिला गर्ने रकम सम्बन्धित देशमा रहेको आफ्नो बैङ्क खाताबाट नेपालमा रहेको वैदेशिक रोजगार बोर्ड र सम्बन्धित बीमा कम्पनीको खातामा रकम पठाउन सकिने व्यवस्था मिलाइएको बताउनुभयो । सरकारले वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गरी श्रमिकले आफू कार्यरत मुलुकबाटै श्रम स्वीकृति नवीकरण गर्न सक्ने व्यवस्था गरेको थियो । एकपटक श्रम स्वीकृति लिई विदेशमा रोजगारीमा गएपछि श्रम स्वीकृतिको अवधि कायमै रहेको अवस्थामा नेपालमा फर्की पुनः सोही मुलुकको सोही काममा जाँदा पुनः श्रम स्वीकृति लिनु नपर्ने तर एकपटक लिएको श्रम स्वीकृतिको अवधि समाप्त भएपछि पुनःविदेशमा रोजगारीको लागि जानुपरेमा श्रम स्वीकृति नवीकरण गर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले अनिवार्य रूपमा श्रम स्वीकृति लिनै पर्ने व्यवस्था पनि रहेकाेछ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.