कार्तिक २६ शनिबार, काठमाण्डाै । मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनका लागी मकवानपुर जिल्लाभर खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि मतदान सञ्चालन सम्बन्धी तालिम सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले आयोजना गरेको दुई दिने तालिमपछि कर्मचारीलाई निर्वाचन सामग्री हस्तान्तरण गरेर मतदान केन्द्रमा खटाइने जनाइएको छ । जिल्लाकाे तीन सय ७४ मतदान केन्द्रमा खटिने सात सय २८ मतदान अधिकृत तथा सहायक मतदान अधिकृतसहित थप ७२ जनालाई मतदान सञ्चालनसम्बन्धी तालिम दिन लागिएको हाे । जिल्लामा खटिने सात सय २८ र अरू थप १० प्रतिशत गरी आठ सय जनालाई तालिम दिनु लागेकाे हाे । प्रत्यक्षतर्फका र समानुपातिक उम्मेदवारका लागि मत राख्ने तरिका, भीड नियन्त्रण, मसी लगाउने, नाम रुजु गर्ने, दोहोर्याएर मत हाल्न आएमा अपनाउनुपर्ने तरिका, मतदाताले गोप्य रूपमा मतदान गर्न पाउने आफ्नो अधिकारलाई सुरक्षित ढङ्गले प्रयोग गर्नेबारे प्रशिक्षित गराइने छ । साथै मङ्सिर १ गतेसम्म निर्वाचनका लागि खटाइएका सबै कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसक्नुपर्ने मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो । मकवानपुरकाे क्षेत्र नं १ मा एक लाख ५० हजार एक सय ५५ र क्षेत्र नं २ मा एक लाख ५० हजार पाँच सय ७८ मतदाता छन् ।

Leave a comment