कार्तिक २६ शनिबार, काठमाण्डाै । नेपाल वायुसेवा निगमले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काका अनुसार डिसेम्बरको अन्तिम सम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको बताउनुभयाे । हाल निगमका वाणिज्य निर्देशक जनकराज काला खेतीको संयोजकत्वमा समिति गठन भइ उडान सञ्चालनबारे अध्ययन सुरु गरिसकेकाे छ । नेपाल वायुसेवा निगमले भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० जहाज छन् ।
गौतमबुद्ध विमानस्थलबाट हाल कुवेतको जजिरा एयरलाइन्सले सातामा तीनवटा उडान गरिरहेको छ । हिमालय एयरलाइन्सले कात्तिक १७ देखि मलेसियाको क्वालालम्पुरका लागि नियमित चार्टर्ड उडान सञ्चालन गर्दै आएको छ । एयरलाइन्सले दैनिक एक चार्टर्ड उडान पनि गरिरहेको छ । २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरी निर्माण सुरु भएको थियाे । साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यहि २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको हो ।

Leave a comment