कार्तिक १४ सोमबार, काठमाण्डाै । भारत उत्तराखण्ड प्रान्तको धारचुला क्षेत्रमा सडक निर्माणकाे क्रममा टाउकोमा ढुङ्गा लागि मृत्यु भएको पीडितपक्षलाई भारतीय निर्माण कम्पनीले १६ लाख क्षतिपूर्ति दिएकाे छ । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार शनिबार राती भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन, पीडित परिवारका सदस्य र स्थानीय नेपाली जनप्रतिनिधिबीच सो रकम उपलब्ध गराउने सहमति भएको थियाे । साेही सहमति अनुसार भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’का प्रतिनिधिले पीडित परिवारलाई नगद रकम हस्तान्तरण गरेको जानकारी दिनुभयो । उनका अनुसार रकम मृतक बालकका बुबा र आमाको नाममा संयुक्त खाता खोलेर जम्मा गरिने छ । छठ पर्वका कारण हिजाे बैङ्क बन्द भएकाले आज सोमबार संयुक्त खाता खोलेर रकम जम्मा गरिने बताउनु भयो । उक्त नगद रकम मृतक बालकको बुबा हिक्मत महराको जिम्मा लगाइएको जानकारी दिनुभयाे ।
प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्ने अवस्था आएमा एकअर्कालाई त्यसबारे जानकारी गराउनुपर्ने हुन्छ । दुवै देशका स्थानीय प्रशासन बीच समन्वय हुनुपर्ने हुन्छ । तर शुक्रबार भारतीय पक्षले विस्फोटक पदार्थ प्रयोगबारे कतै त्यसबारे कुनै जानकारी नदिएको बताउनुभयो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिनासूचना पटक पटक विस्फोटक पदार्थ प्रयोग गर्ने गरेकाेमा नेपाली पक्षले आपत्ति जनाएको बताउनुभयाे ।
Leave a comment