कार्तिक १४ सोमबार, काठमाण्डाै । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने निर्णय गरेको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार जेठ २ गते देखि विधिपूर्वक रुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा प्रयोगमा ल्याउन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका चार्टर्ड उडान अब भैरहवाबाट गर्नुपर्ने निर्णय गरेको जानकारी दिनुभयो ।उहाका अनुसार कूटनीतिक चार्टर्ड उडान, कार्गो उडान र सेनाका उडान चाँही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुने बताउनु भयाे ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक १३ गते देखि लागू गरेको हिउँदे उडान तालिकामा चार्टर्ड उडानसँगै काठमाण्डौबाट हुँदै आएका हरेक तीन उडानमा एक उडान समेत भैरहवाबाटै हुने भएकाेछ । प्राधिकरणले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स सहित तीन विदेशी हवाई कम्पनीलाई हिउँदे उडान तालिका अनुसार गौतमबुद्ध विमानस्थलमा दैनिक एक उडान गर्न निर्देशन दिएको छ । हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले मात्र हप्ताको तीन उडान गरिरहेको छ ।

Leave a comment