बन्द कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रले पायाे

असाेज ११ मंगलबार, काठमाण्डाै । तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखाना सञ्चालन गर्न राष्ट्रिय आविष्कार केन्द्रले जिम्मा पाएकाे छ । सरकारले वीरगञ्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउनकाे लागि मङ्गलबार अर्थ मन्त्रालय र आविष्कार केन्द्रबिच सम्झौतामा हस्ताक्षर गरिएकाे हो । सम्झाैतामा मन्त्रालयका तर्फबाट सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हस्ताक्षर गर्नुभएकाे हाे । मन्त्रि परिषदकाे गत भाद्र ३१ गतेकाे बैठकले गरेकाे निर्णय अनुसार कृषि औजार कारखाना र राष्ट्रिय आविष्कार केन्द्र बिच सम्झाैता भएकाे हाे । मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेटमा बन्द तथा रुग्ण रहेका कारखाना पुनः सञ्चालन गरिने घोषणाअनुसार नै आविष्कार केन्द्रलाई कृषि औजार कारखाना सञ्चालन गर्ने जिम्मा लगाइएकाे बताइएकाे छ । अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबिच १० वर्षका लागि सम्झौता भएको हाे ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले नेपाल सरकार र अर्थ मन्त्रालयसँग यस किसिमको सम्झौता होला भनेर नसोचेको बताएका छन् । उनले यस सम्झाैता राम्रो कामका लागि भएको हाे, आफूहरूको ज्ञान, शिप र विवेकले भ्याएसम्म राम्रो गरेर देखाउने प्रतिबद्धता जनाउनुभयो । सम्झौताअनुसार कारखानाको मर्मतसम्भार र औजार थप गर्न तथा सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था पहिलो पटक सरकारले गर्नेछ भने योजना निर्माण, जनशक्ति विकास, कृषि औजार उत्पादन र बजारीकरण लगायतका काम आविष्कार केन्द्रले गर्नेछ । साथै आविष्कार केन्द्रले अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान र तालिम सञ्चालन गर्ने, दक्ष जनशक्ति तथा आधुनिक कृषि औजार उत्पादन तथा बिक्री गर्ने कार्य गर्न पाउनेछ । सम्झौता अनुसार आविष्कार केन्द्रले औजार बिक्री गरेपछि प्राप्त रकमको ५० प्रतिशत रकमकाे राष्ट्रिय आविष्कार केन्द्र कोष खडा गर्ने र बाँकी ५० प्रतिशत वार्षिक रूपमा नेपाल सरकारको राजश्व खातामा जम्मा गर्नुपर्नेछ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.