असाेज ११ मंगलबार, काठमाण्डाै । नुवाकोटको ऐतिहासिक सात तले दरबार पुनर्निर्माणका लागि चिनियाँ पक्ष नेपाल आएको छ। २०७२ सालमा गएकाे भुकम्पले नुवाकोटको ऐतिहासिक सात तले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदामा क्षति पुगेकाे थियाे । वि.सं २०७६ जेठमा पुरातत्व विभाग र चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज बीच पुनर्निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अर्जुन फुँयालको अनुसार भुकम्पले क्षति पुर्याएका संरचना पुनर्निर्माणमा सहयोग पुर्याउने कार्यक्रम अन्तर्गत नेपाल र चीन सरकारबीच दरबार सहित यहाँका थप सात धार्मिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका संरचनाको पुनर्निर्माण गर्ने समझदारी भएको थियाे। उनका अनुसार चिनियाँ कम्पनीका प्राविधिक वि.सं २०७६ साउनमा पहिलोपटक कार्यक्षेत्रमा आइपुगेको थियाे । चिनियाँ पक्षले सात तले दरबार र तुलजा (तलेजु) भवानीको मन्दिरलाई थप क्षति हुनबाट जोगाउन खट बनाएर नयाँ वर्षपछि सन् २०२० फर्किने भनेर गएका थिए । तर चिनियाँ कम्पनीका प्राविधिक स्वदेश फर्के लगत्तै सुरू भएको कोरोना महामारीकाे जोखिमले रोकिएको पुनर्निर्माण अघि बढाउन २० जनाको प्रटोली दरबारमा आइपुगेको छ।
कार्यालय प्रमुख फुँयालका अनुसार राजा पृथ्वीनारायण शाहले नुवाकोट माथि विजय हासिल गरे पश्चात सात तले दरबारको निर्माण गर्न लगाइएकाे थियाे। दरबार क्षेत्र परिसरमा अवस्थित तुलजा भवानी मन्दिर भने लिच्छविकालीन मन्दिर भएको बताएका छन् । साततले दरबारलाई नेपालमा गणतन्त्र आए लगतै नुवाकोट सङ्ग्राहलयमा परिणत गरेर सर्वसाधारणका लागि खुला गरिएको थियो। उक्त दरबार भित्र पृथ्वीनारायण शाहले प्रयोग गरेका लुगाफाटा, पलङ, ओछ्यान, युद्धका सामग्री, पृथ्वीनारायण शाह र रानीका प्रतिमा लगायतका ऐतिहासिक संरचना राखिएका छन्।


Leave a comment