भाद्र २७ साेमबार, काठमाण्डाै । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिनेकाे नेपाल भ्रमणमा आज काठमाडौं आइपुगेका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार अध्यक्ष ली नेपाल आए लगतै नेपाल र चीनबीच अन्तर संसदीय सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। नेपालकाे तर्फबाट सभामुख अग्नि सापकोटा र चीनको जनकंग्रेसको तर्फबाट ली चान्शुले ६ बुँदे समझदारीमा हस्ताक्षर गरेका हुन्।
नयाँ बानेश्वर स्थित संसद भवनमा भएको भेटमा उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने, संसदीय मैत्री समूहहरूको संलग्नता अभिवृद्धि गर्ने, एकअर्काको विधायकी सुपरिवेक्षकीय र शासन सञ्चलान सम्बन्धी अभ्यासबारे जानकारी आदान प्रदान गर्ने लगायतका विषयमा समझदारी भएको हो। समझदारीमा बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत समेत दुई राष्ट्रहरूबीच अन्तरआबद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने उल्लेख छ। समझदारी आगामी पाँच वर्षसम्म मान्य हुनेछ। समझदारीले नेपाल र चीनबीच कायम रहेको द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्न सहयोग पुग्ने विश्वास दुबै देशले लिएका छन्। नेपाल भ्रमणका आएका चान्शुले भोली देखि राजनीतिक भेटवार्ता गर्नेछन्।
अध्यक्ष लीको सुरक्षाका लागि भन्दै आज करिब तिन घण्टा कठमाडौंमा सवारी आवतजावतमा कडा पारिएको थियाे । जसले गर्दा उपत्यकाका तीनवटै जिल्लामा ट्राफिक समस्या भएको थियो । काठमाडौं उपत्यकाभित्र चल्ने सवारीसाधन र यात्रुहरुले सोमबार निकै कष्ट बेहोर्न बाध्य भएका थिए ।अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहाननै स्वदेश फर्कने कार्यक्रम रहेकाेछ।
Leave a comment