भाद्र २२ बुधबार, काठमाण्डाै । नवलपुर जिल्ला अदालतले मङ्गलबार नायक पल शाहलाइ साढे दुई वर्ष कैद फैसला सुनाएको छ। नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नायक शाहलाई बालयौन दुरूपयोगमा दुई वर्ष छ महिना कैद , रु २५ हजार जरिवाना र रु दश लाख क्षतिपूर्तिको फैसला सुनाएको हो। नायक शाहलाइ जबर्जस्ती करणी मुद्दामा अभियोगपत्र दर्ता भए पनि न्यायाधीशले बालयौन दुरूपयोगको कसुरमा शाहलाई कैदको फैसला सुनाएको अदाललते जनाएको छ। शाहविरूद्ध नवलपुर अदालतमा गत चैत ३ गते जबर्जस्ती करणी मुद्दा दर्ता भएको थियो।
साथै नायक शाह विरुद्ध बालिकमाथि जबर्जस्ती करणी गरेको भन्दै तनहुँ प्रहरीमा पनि गत फागुन ११ गते उजुरी परेको थियो। शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए। शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै रिहा गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिए पनि अदालतले उक्त निवेदन अस्वीकृत गरिदिएको थियो। हाल तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ। यसअघि यही भदौ १५ गतेका लागि तोकिएको पेसी स्थगित भएको थियो। तनहुँ अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले असोज २ गतेका लागि पेसी तोकिएको जानकारी दिए।
Leave a comment