भाद्र १४ मंगलबार, काठमाण्डाै । हिन्दु नेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा लाखाैं दर्शनार्थीले दर्शन एवं पूजा आराधना गरेका छन् । कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरी शङ्कर पराजुलीले जानकारी दिए अनुसार आज बेलुकी सात बजेसम्म करिब सात लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन् ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहेकाेछ । आज राजधानीको उत्तरपूर्वी भेगका गोकर्णेश्वर र नागेश्वर मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको सन्तानेश्वर लगायत काठमाडौँ उपत्यका र देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । त्यसै समयदेखी याे पूजा व्रत बस्ने चलन चल्दै आएकाे छ । सोमबार राति दर खाएपछि औपचारिक रुपमा सुरु भएकाे तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । हिन्दु नेपाली नारीले यो पर्व विशेष महत्वका मनाउँछन् ।
Leave a comment