श्रावण १३ शुक्रबार, काठ्माण्डाै । आजबाट काठमाडौँ उपत्यकामा बौद्ध धर्मावलम्बीहरुले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ सुरू भएको छ । याे पर्व वर्षभरि दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ)मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ । नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिनाका रुपमा लिइएको छ । नेपाल संवतको नौ महिनामा पर्ने सो पर्वमा बौद्ध तथा गैरबौद्ध धर्मावलम्बीले समेत सहभागिता जनाउने गर्छन् । यस अवधिमा स्वयम्भू महाचैत्यमा एक महिनासम्म मेला लाग्ने गर्छ। भक्तजनले स्वयम्भू महाचैत्यको दर्शन परिक्रमा गरे पछि शोभाभगवतीसँगैका विजयश्वरीको दर्शन गरी केलटोल स्थितको सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ ।
साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म सञ्चालन हुने उक्त मेला भर्न काठमाडौँ तथा आसपासका क्षेत्रबाट भक्तजनहरु आउने गर्छन् । याे पर्व कहिलेदेखि सुरू भएको भनेर यकिनका साथ भन्न नसकिए पनि पौराणिककाल देखि नै अभ्यासमा रहेको जनविश्वास छ । नेवारी समुदायले बजाउने परम्परागत धाःबाजा, नेकुबाजा, दमोखीं तथा अन्य सांस्कृतिक गाजाबाजा बजाउँदै विभिन्न चैत्यको परिक्रमा गर्दा मनमा शान्ति तथा एकापसमा सद्भाव अभिवृद्धि हुनुका साथै पारिवारिक सुख कायम भई पुण्य लाभ हुने जनविश्वास छ ।
Leave a comment