श्रावण १३ शुक्रबार, काठ्माण्डाै । सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७२ जारी गर्ने गृह मन्त्रालयले त्यसकाे पालना नगरेकाे पाइएकाेछ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको विशेष संसदीय समितिले गृह मन्त्रालयलाई सिसिटिभी फुटेज मागेकाे थियाे । समिति सभापति लक्ष्मणलाल कर्णले सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको प्रतिवेदनमा निर्देशिका जारी गर्ने गृह मन्त्रालयले सिंहदरबारको सिसिटिभी फुटेज नै १६ दिनसम्म मात्रै राख्ने गरेकाे उल्लेख गरेकाे छ। समितिले छानबिनका क्रममा अर्थ मन्त्रालयबाट सान्दर्भिक फुटेज प्राप्त नभएपछि २०७९ साउन ८ मा गृह मन्त्रालयबाट सिंहदरबार प्रवेश गर्ने दक्षिण र पश्चिमतर्फको गेटमा रहेको सिसिटिभीको फुटेज मागेको थियो। गृहले जवाफमा १६ दिनसम्म मात्र फुटेजको अभिलेख रहने र त्यसपछि क्रमशः आफैं डिलिट हुने बताएको थियो।
सिसिटिभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७२ ले सिसिटिभी जडान गर्ने हरेक निकाय तथा व्यक्तिले कम्तीमा ३ महिनासम्म सिसिटिभीको अभिलेख राख्नुपर्ने र कुनै सरकारी निकायले अनुसन्धानको सिलसिलामा माग गरेमा तुरून्त उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयका अधिकारीहरूले भने यो व्यवस्थाबारे आफूलाई जानकारी नै नभएको बताएका छन्। सरकारी सार्वजनिक निकायले सिसिटिभी जडान तथा सञ्चालन गरेमा सो को लिखित जानकारी १५ दिन भित्र नजिकको प्रहरी इकाई वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनिवार्य रूपमा दिनुपर्ने व्यवस्था सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७२ मा उल्लेख छ ।
Leave a comment