श्रावण १० मंगलबार, काठमाण्डाै । नेवार समुदायले श्रावण कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीका अवसरमा मंगलबार घरमा शान्तिको कामना गर्दै गठामुंगः पर्व मनाउँदैछन् । वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको पनि छ । नेवार समुदायले हर्षोल्लासका साथ आज आफ्नो घरमा शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर घण्टाकर्ण राक्षसको पूजा गर्दछन् । घण्टाकर्णलाई शिवको प्रतीकका रूपमा पनि लिइन्छ । घण्टाकर्ण चतुर्दशीमा एकाबिहानै उठेर घरलाई लिपपोत गरी सफा पार्ने र घरका सबै जनाले नुहाइ मन्दिरबाट जल ल्याई घरको सम्पूर्ण भागमा जलले छर्केर चोखो बनाउने प्रचलन छ । घरलाई चोखो बनाएपछि भुत पन्छाउने कार्य गर्दछ जसमा काँचो माटोको सानो दहीको कटारो वा सलीचामा चिउराको ढुटो, जाँडको कट, लसुन, रगत, रातो खुर्सानी, कालो भटमास, रङ्गीविरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने गरिन्छ । साथै घरको मूल ढोका र मुख्य निदालमा मयुरको प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने चलन पनि छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ । घरका साना केटाकेटीलाई फलाम वा तामाको औँठी कली लगाइदिने चलन पनि छ । आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने र हातमा मेहेन्दी लगाउने प्रचलन पनि रहेको छ।
काठमाडौं उपत्यकामा हजाराैं वर्ष अघिदेखी यो पर्व मनाउँदै आएको र पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने जनविश्वास रहेकाेछ । कानमा घण्टा झुण्ड्याएर हिँड्ने राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व पनि भनिएको हो । याे पर्व मनाउनेकाे संख्या भने आजकाे आधुनिक समाजमा धेरै घटेकाे छ । यसलाइ जाेगाइ यसले दिने सन्देस र माैलिक परम्परा जाेगाउनु आजकाे आवश्यक्ता रहेकाेछ ।
Leave a comment