श्रावण ९ साेमबार,काठमाण्डाै । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले विश्व शान्ति र एकतालाई जोगाउन असंलग्न आन्दोलनले अहम भुमिका निर्वाह गर्ने बताएका छन् । उनले नेपालकाे तर्फबाट अजरवैजानको राजधानी बाकुमा भएको असंलग्न आन्दोलनमा संलग्न राष्ट्रका युवाहरूको शिखर सम्मेलन ‘नन अलाइन मुभमेन्ट युथ समिट–२०२२’मा प्रतिनिधि मण्डलको नेतृत्व गरेका छन् । याे जुलाई २५ देखि २९ तारिखसम्म बाकुमा हुने छ ।
उपाध्यक्ष बस्नेतका अनुसार ”हामी भुगोलमा सानो वा विकासमा पछि परेका कारणले मात्र असंलग्न आन्दोलनमा लागेका होइनौं , हामी यस मार्फत सिंगो विश्वलाई यस्तो बनाउन चाहन्छौं जहाँ सबैले सबैको सार्वभौमसत्ता र स्वतन्त्रताको सम्मान गराेस् । नेपाल विश्वशान्तिकाे अग्रदुत गौतम बुद्धकाे शान्ति सन्देश देखि विगतमा विश्व समुदाय माझ नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव सम्म आइपुग्दा असंलग्न आन्दोलनको एउटा नेतृत्वदायी राष्ट्रको रूपमा रहेको छ । त्यस्तै असंलग्न आन्दोलनको सफलताले मात्र विश्वमा दिगो शान्ति, विकास, भातृत्व र एकतालाई सुनिश्चित गर्न सक्दछ ।”
त्यस्तै युवा तथा खेलकुद मन्त्रालयका उपसचिव डा.कृष्णबहादुर घिमिरेले पनि यस युवा शिखर सम्मेलनमा भाग लिएका छन् । जुलाई २५ देखि जुलाई २९ सम्म हुने यस सम्मेलनमा असंलग्न आन्दोलन युवा नेटवर्क समेत गठन हुने भएकाे छ।
Leave a comment