‘रेडियोधर्मी पदार्थको उपयोग नियमन सम्बन्धी विधेयक, २०७६’ स्वीकृत

१४ जेठ,काठमाण्डौ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाबाट संशोधनसहित प्राप्त भएको ‘रेडियोधर्मी पदार्थको उपयोग नियमनसम्बन्धी विधेयक, २०७६’ स्वीकृत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले सो विधेयकको संशोधन माथि विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव बैठकले बहुमतले स्वीकृत गरेको हो । यसअघि संशोधन माथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री पोखरेलले विकीरण बाट उत्पन्न जोखिम न्यूनीकरण गर्न अति जरुरी भएको र पारामाणिक पदार्थको नियमन तथा रेडियोधर्मी पदार्थको सुरक्षा, अनुसन्धान र नियमनका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई समेत ध्यान दिएर विधेयक ल्याइएको बताउनुभयो । संशोधन माथिको छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले सो विधेयक गम्भीर महत्वको भएकाले विस्तृत छलफलपछि मात्रै पास गर्न आग्रह गर्नुभयो ।

सांसद दिव्यमणि राजभण्डारीले कोरोना जोखिममा विश्व परिरहेको सन्दर्भमा हाल यस्ता विधेयक प्राथमिकतामा नपर्ने बताउनुभयो । दुई प्रतिवेदन पेश बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले ‘कानून, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०७७’ र शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गर्नुभएको थियो । प्रतिवेदन पेश गर्दै सभापति पोखरेलले जनतालाई शक्तिको स्रोत मान्ने प्रकारको शासकीय स्वरुप हुनुपर्ने सुझाव दिनुभयो । उहाँले समितिले दिएका सुझाव र निर्देशनले समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीले ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक प्रतिनिधिसभामा टेबुल गर्नुभयो ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.