कोरोनासँग डराएर, ढोका थुनेर वा लुकेर मात्र नहुने मुख्य मन्त्री पौडेल

१४ जेठ,हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनासँग डराएर ढोका थुनेर वा लुकेर मात्र नहुने भन्दै त्यस विरुद्ध जुध्ने र सामना गरेर अगाडि बढ्ने नीति लिइने बताउनुभएको छ । प्रदेशसभाको आजको बैठकमा उहाँले प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिदै कोरोना विरुद्धको लडाइमा अन्य प्रदेशको तुलनामा यो प्रदेशमा धेरै काम भएको बताउनुभयो । हाल सम्म प्राप्त कोरोना सङ्क्रमितको विवरण अनुसार वाग्मती प्रदेशमा कम सङ्क्रमित पाइएको भन्दै उहाँले बढी जनसङ्ख्या तथा सङ्घीय राजधानी समेत यही प्रदेशमा हुँदाहुँदै पनि सङ्क्रमितको सङ्ख्या कम हुनुमा सरकारको सक्रियता र क्रियाशीलता मुख्य कारक भएको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले कोरोनाको कहर कम गर्न प्रदेश सरकारले स्थानीय तहमार्फत रु ३० करोड खर्च गरिसकेको र आवश्यक भए अन्य रकम पठाउन सकिने बताउँदै रकम आवश्यक हुने स्थानीय तहले केका लागि र कति रकम चाहिएको हो भन्ने स्पष्ट योजना ल्याएमा प्रदेश सरकारले रकम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री पौडेलले आर्थिक वर्ष २०७७÷७८ का लागि सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले प्रदेशमा उज्यालो ल्याउने दाबी गर्नुभयो । “नीति तथा कार्यक्रममा एउटा पनि बुँदा त्यस्तो छैन, जसले कसैको मन नछोओस्”, उहाँले भन्नुभयो । प्रदेशसभा सदस्यले उठाएका पिसीआर परीक्षणको दायरा बढाउनुप¥यो भन्ने सुझावमा पौडेलले प्रदेशमा प्रतिसङ्क्रमित २२५ का दरले पिसीआर परीक्षण भइरहेको तथा चिकित्सकलाई शङ्का लागेका वा सङ्क्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ (सङ्क्रमितसँगको सम्पर्कमा रहेकाहरुको खोजी) का आधारमा आवश्यक सबैको परीक्षण भइरहेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री पौडेलले विकास निर्माण र मर्मत सम्भारका लागि द्रुत कार्य गर्न आवश्यक साधन सहितको कम्पनी आवश्यक परेको हुँदा सरकारले प्रदेश पूर्वाधार विकास कम्पनी स्थापना गर्ने नीति लिएको स्पष्ट पार्नुभयो । सभामा १५ जना प्रदेशसभा सदस्यले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमका पक्ष र विपक्षमा आआफ्नो धारणा राख्नुभएको थियो । त्यस्तै प्रदेशसभा सदस्य रमेश पौडेल, निमा लामा, प्रभात तामाङ, पुकार महर्जन, सन्तबहादुर प्रजा, राधा घले, जीवन डङ्गोल, रीता माझी, रिना गुरुङ र शोभा शाक्यले विभिन्न सात बुँदामा संशोधनको प्रस्ताव प्रस्तुत गर्नुभएकामा प्रदेशसभाले त्यसलाई बहुमतले अस्वीकृत गरेको थियो । आर्थिक वर्ष २०७७÷७८ का लागि प्रदेश सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमलाई प्रदेशसभाले बहुमतले पारित गरेको छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.