कोरोनापछिको आर्थिक अवस्था उकास्न कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने

१३ जेठ, लुम्बिनी ।   कोरोना भाइरसका कारण देशमा परेकाे आर्थिक सङ्कटबाट पार पाउन र याहाँका पर्यटन तथा औद्योगिक क्षेत्रलाई उकास्न बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न जरुरी रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल र भैरहवा क्षेत्रका उद्यमीबीच भएको ‘कोर्भिड –१९ ले पारेको असर र त्यसपछिको उद्यम’ का विषयमा अनलाइन छलफलमा कृषिमा व्यावसायिकता आवश्यक रहेकाे, किसानका लागि सस्तो र सुलभ ऋण सञ्चालन गर्न जोड दिँदै प्राविधिक खेतीको बीमा जरुरी भएको , आगामी बजेटमा कोरोनाको कारण बाहिरबाट स्वदेश फर्केकाहरुलाई कृषि उद्यममा जोड्ने गरी कार्यक्रम ल्याउन लागिएको तथा बाँझा जमीन उपयोग गर्ने र चक्लाबन्दीमा लैजाने कुरामा बजेट केन्द्रित गर्ने तयारी गरिएकोछ भनी छलफलमा मन्त्री घनश्याम भुसालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ पहाडमा ३० प्रतिशत बाँझो जमीन छ, तराईमा पनि ठूलो ठूलो बगरको जमीन छ , ती जमीनमा फलफूल वा मौसमी तरकारी गर्न सकिन्छ ।

मन्त्री भुसालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना त्यसतर्फ केन्द्रित गरेर बाँझो जमीन उपयोग गर्नेतर्फ सरकारले तयारी गरिरहेको जानकारी दिनुभयो । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले उन्नत बीउ र मल, सिंचाइ र प्रविधिको व्यवस्थापन मिलाएर सहकारीको ढाँचामा कृषिलाई अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो । महासङ्घका अर्का केन्द्रीय सदस्य कृष्णप्रसाद शर्माले लकडाउनका कारण खाद्य उद्योग पनि पूर्ण क्षमतामा चल्न नसकेको बताउनुभयो । अनलाइनमार्फत जुम एपमा भएको छलफलमा कोरोनापछिको भरपर्दो उद्यम कृषि नै भएको उद्योग वाणिज्य सङ्घ सिद्धार्थनगरका सल्लाहकार जीवलाल अर्यालले बताउनुभयो । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्माले किसानलाई सहयोग हुने गरी ठोस नीतिसहितको बजेट ल्याउनुपर्ने सुझाव दिनुभयो । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले सरकारले तत्काल बीउ र मलखादको व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो । उद्यमी अरुण गोयन्काले कोरोनापछिको आर्थिक अवस्था उकास्ने कृषि नै भएको तर्क गर्नुभयो । भन्सार एजेन्ट संघका पूर्वअध्यक्ष कृष्णप्रसाद घिमिरेले भन्सारबाट निर्बाध रुपमा हरियो तरकारी आयात भइरहेको अवगत गराउनुभयो ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.