कोरोना व्यवस्थापन अस्थायी अस्पताल सञ्चालन गर्ने तयारी

राजविराज, ९ चैत । सप्तरीको चार स्थानमा कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै ‘कोरोना व्यवस्थापन अस्थायी अस्पताल’ सञ्चालन गर्ने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षतामा शनिबार बसेको उच्चस्तरीय बैठकले राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल, छिन्नमस्ता मेडिकल कलेज एण्ड अस्पताल, साई कृष्णा शिक्षण अस्पताल र युनिक अस्पतालमा अस्थायी अस्पताल सञ्चालन गर्ने निर्णय गरिएकाे हाे । ती अस्पतालमा आइसोलेसन कक्ष निर्माण गर्न तयारी गरिएको जनाइएको छ । राजविराज नगरप्रमुख शम्भुप्रसाद यादवकाे अनुसार हनुमानगर रोडमा बन्द रहेको साई कृष्णा शिक्षण अस्पतालमा आवश्यक उपकरण जडान गरी क्वारेन्टाइन कक्ष सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । प्रजिअ खनालको नेतृत्वमा भीमदल गणका प्रमुख गुप्तबहादुर कुँवर, राजविराज नगरपालिकाका प्रमुख यादव, जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्ण प्रर्साइ, सशस्त्र प्रहरी उपरीक्षक उद्धवबहादुर न्यौपानेसहितको टोलीले ती अस्थायी अस्पतालका लागि छनोट गरिएका चारवटै अस्पतालको स्थलगत निरीक्षण समेत गर्नुभएको छ । जिल्लाको बोदे बर्साइन नगरपालिकाअन्तर्गत पर्ने नेपाल–भारत सीमा शनिबारदेखि बन्द गरी आवतजावतमा रोक लगेको स्थानीयवासी लोकेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.