बन्दीपुरमा केबुलकार निर्माण कार्य तीव्र गतिमा

२३ फागुन, दमौली । तनहुँको बन्दीपुरमा केबुलकारको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्मा का अनुसार रु एक अर्ब ५६ करोडको लागतमा बनाइने भएकाे छ । निर्माणाधीन सो परियोजनाको ३५ प्रतिशत काम सम्पन्न भएको छ र परियोजना छिटो सम्पन्न गर्न दिनरात नभनी काम गरीरहेको छ । साथै आगामी दशैँदेखि माघ मसान्तभित्र केबुलकार सञ्चालनमा आउने लक्ष्य लिइएकाेछ । हाल केबुलकारको टावरको खाल्डा खन्ने, पिल्लरको काम तथा बटम स्टेशनमा केबुलकारको खण्ड निर्माण सम्पन्न भएको र एक महीनाभित्र केबुलकारको टावर निर्माणस्थलमा आइपुग्ने जनाइएको छ । केबुलकारको सामान तयार भइसकेकाे र सामान ल्याएर जोड्ने तयारी गरिएको छ । केबुलकार परियोजनाका लागि नेपाल एसबीआई बैंकले रु ९७ करोड ऋण दिने सहमति भएको छ । केबुलकारको माथिल्लो स्टेशनमा रु ८० करोडको लागतमा चारतारे होटल निर्माण गर्नका लागि काठमाण्डाै स्थित चन्द्र निर्माण सेवासँग २५ महिनाभित्र होटल निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ । कलात्मक शैलीमा निर्माण गरिने होटलका लागि नेपाल एसबीआई बैंकसँग ऋण सम्झौता गरीएकाेछ । केबुलकार परियोजनाको परामर्शदाताको रुपमा काठमाण्डाै स्थित केज कन्सलट्यान्ट प्रालि, मेकानिकाल परामर्शदाताका रुपमा भारतस्थित सीआरएस र ब्रिको इङ्ग्ल्याण्ड रहेको छ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्रा‍‌लि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबुलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएकोछ।

ठुल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट एक घण्टामा दुई सय जना वारपार गर्न सक्नेछन् । एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ । ठूल्ढुङ्गास्वाँराबाट शुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबुलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ । तनहुँको डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ । केबुलकार निर्माण भएपछि केबुलकारमा नौ मिनेटमा बन्दीपुर पुग्न सकिन्छ । केबुलकारमा दुई वटा सामान बोक्नेसहित १७ वटा बाक्सा रहनेछ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.