गिद्ध प्रजनन् केन्द्रमा बच्चा कोरल्ने समस्या देखियाे

माघ २३, बिहीबार, काठमाण्डाै। चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको गिद्ध प्रजनन् केन्द्रमा बच्चा कोरल्ने समस्या देखिएएको छ । माउले फुल पार्ने तर बच्चा कोरल्न नसकेपछि यसको कारण खोजी गर्न शुरु गरिएको हो । प्रजनन केन्द्र हेर्दै आउनुभएका डा विकल्प कार्कीका अनुसार यस वर्ष १२ वटा गिद्धले फुल पारेका थिए । ती फुलमा गिद्ध ओथारो बसिरहेको छ । फुल पारेको ५५ देखि ६० दिनमा बच्चा कोरल्नु पर्दछ तर आधाभन्दा बढीको समय नाघेको भए पनि बच्चा कोरलिएको छैन । डा कार्कीले फुल पार्ने तर बच्चा कोरल्न नसक्नुका कारण के हुन सक्छ भनेर विदेशी विज्ञसँगसमेत परामर्श गरी अनुसन्धान भइरहेको जानकारी दिनुभयो । निकुञ्जका निमित्त प्रमुख वेदकुमार खड्काले तापक्रम निकै गिरावट भएकाले बच्चा कोरल्न नसकेको हो कि भन्ने आशङ्का पैदा भएको भए पनि अनुसन्धान भइरहेकाले अहिले नै भन्न नसकिने बताउनुभयो । यस वर्ष जाडोको मौसममा तापक्रम चार डिग्रीमा झरेको थियो । हाल प्रजनन केन्द्रमा १९ भाले, १९ पोथी र दुई वटा बच्चा रहेका छन् । तीमध्ये दुई बच्चा, चार भाले र तीन पोथी नवलपरासीको जटायु रेस्टुराँमा प्रकृतिमा छाड्नका लागि लैजाने तयारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा प्रजनन केन्द्र स्थापना गरी सेतो डङ्गर जातको गिद्धको वंश विस्तार गर्ने काम हुँदै आएको छ । निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पक्षी संरक्षण सङ्घले सन् २००८ बाट कसरामा गिद्ध प्रजनन केन्द्र स्थापना गरी संरक्षण गर्दै आएका छन् ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.