माघ १८, काठमाण्डाै । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद आशाकुमारी विकले ठूलो लगानीमा सार्वजनिक शौचालय निर्माण गरिएको भए पनि कतिपय प्रयोग विहीन अवस्थामा रहेको भन्दै यसतर्फ गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो ।
नेकपाका इन्दुकुमारी शर्माले चुरे दोहन रोक्न सरकार असफल हुँदा माफिया मौलाएको उल्लेख गर्दै उहाँले चुरेको अवैध उत्खनन् रोक्न सरकारसँग माग गर्नुभयो ।नेकपाका कुमारी तुलसी थापा तुसारोले हिउँदे बालीमा ठूलो नोक्सानी पुर्याउने भन्दै किसानलाई र बाढीपहिरो तथा प्राकृतिक प्रकोपबाट प्रभावित भएका जनतालाई तुरुन्त राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।नेकपाका खगराज अधिकारीले पोखरा क्षेत्रीय विमानस्थलका लागि १०४ रोपनी जग्गा अधिग्रहण गर्ने खबर सही हो कि के हो ? भन्दै जिज्ञासा राख्नुभयो । नेकपाकै गजेन्द्रबहादुर महतले छाउगोठका नाममा गरिब जनताको घर भत्काइएको भन्दै त्यसो नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।नेकपाका गौरीशङ्कर चौधरीले कोरोना भाइरसबाट विश्वका विभिन्न मुलुक प्रभावित भइरहेको भन्दै सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।नेकपाका सांसद घनश्याम खतिवडाले चन्दा आतङ्कका नाममा मुलुकभर अराजक गतिविधि मौलाइरहेको भन्दै यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । नेकपाका झपटबहादुर रावलले कैलाली चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म १२८ किलोमिटर दूरीको बाटो अत्यन्त साँघुरो भएकाले हरेक दिन दुर्घटनाको दर बढेको भन्दै उक्त सडक स्तरोन्नति गर्न माग गर्नुभयो ।नेपाली काँग्रेसका जिपछिरिङ लामाले शून्य समयमा सांसदले उठाएका विषय कार्यान्वयनमा नगएको भन्दै आपत्ति जनाउनुभयो ।
Leave a comment